एएफसी यू-ट्वान्टी महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।
नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेसनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
केही समयअघि साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
यस प्रतियोगिताको समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल यही मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।
समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ। दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । छानिएका टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उक्त प्रतियोगिता सन् २०२४ मार्च ३ देखि १६ सम्म हुनेछ ।
आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिँधै छनोट भइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया