यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २०

काठमाण्डौँ । नेपाली यू-२० महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले भोलीदेखि भुटानमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार रहेको बताएका छन् ।

समूह ए मा रहेको नेपालले बुधबार घरेलु टोली भुटानसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ ।

यस्तै कप्तान बिर्सना चौधरीले पनि नेपालको तयारी राम्रो रहेको बताएकी छन् । ‘यस प्रतियोगिता खेल्ने भुटान मात्र नभएर अरु टिम पनि राम्रो छ । तर हाम्रो तयारी पनि राम्रो भइरहेको छ ।’

ढाकामा जुलाई ११ देखि २१ सम्म भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यस बेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो । त्यो दक्षिण एसियाली राष्ट्रहरुको प्रतियोगिता थियो ।

यस पटक भने नेपाली जुनियर महिला टोली यू-२० महिला एसियन कपमा पुग्ने लक्ष्यसहित भुटान पुगेको हो । जहाँ नेपालले उमेर समूहमा एसियन कप र विश्वकप समेत जितिकसेको उत्तर कोरिया जस्तो बलियो टोलीसँग समेत खेल्नेछ । यस्तै नेपाल रहेको समूहमा घरेलु टोली भुटान र साउदी अरेबिया पनि छ ।

नेपाली यू-२० (त्यसबेला यू-१९) महिला फुटबल टिमले सन् २००४ मा एएफसी यू-२० महिला एसियन कप नै खेलेको थियो । त्यो समय छनोट प्रतियोगिता नभएकोले नेपालले सिधै खेल्ने अवसर पाएको थियो । त्यसपछि भने छनोट प्रतियोगित आयोजना हुन थाल्यो ।

नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *