काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १०:२६ बजे टीका लगाउन उत्तम साइत रहेको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत कुर्नु आवश्यक नरहेको समितिले जनाएको छ।
धार्मिक मान्यताअनुसार असत्यमाथि सत्य र दुष्ट शक्तिमाथि दैवी शक्तिको विजयको सम्झनामा यो पर्व मनाइन्छ। त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा पनि विजयादशमीलाई लिने गरिन्छ।
आज गुरु, अभिभावक तथा ज्येष्ठ सदस्यबाट टीका, जमरा र प्रसाद ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने चलन छ। घटस्थापनादेखि दशैंघरमा विधिपूर्वक राखिएको जमरालाई समृद्धिको प्रतीक मानिन्छ।
समितिका अनुसार आज बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउने व्यक्तिले पश्चिम फर्केर र टीका लगाइदिनेले पूर्व फर्केर बस्नु शुभ मानिने धार्मिक परम्परा छ।
आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्नेछन्। देशका विभिन्न समुदायमा परम्पराअनुसार रातो वा सेतो टीका लगाउने चलनसमेत रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्