×

यू-१९ विश्वकप छनोटको निर्णायक खेलमा नेपालले यूएईसँग खेल्दै

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया

आईसीसी यू-१९ विश्वकप एसियाली छनोटमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यो खेल जिते नेपाल सन् २०१६ पछि यू-१९ विश्वकपमा फर्कनेछ ।

अजमानस्थित इडेन गार्डेन ओभलमा हुने खेल नेपालको समयअनुसार बिहान १० : ४५ बजे सुरु हुनेछ । यूएई र नेपाल दुवै जारी छनोट प्रतियोगितामा अपराजित छन् ।

४ खेलमा ८ अंक जोडेको यूएई नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ । समान अंककासाथ नेपाल दोस्रो स्थानमा छ । नेपालले लिगको पछिल्लो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

नेपालको युवा टोली विश्वकप खेल्नबाट मात्र एक जितले पछि छ । नेपालले विश्वकप नखेलेको ७ वर्ष भइसकेको छ । पछिल्लो पटक सन् २०१६ मा सहभागिता जनाएयता नेपाल छनोट हुने सकेको छैन ।

कप्तान देव खनालले आज आफ्नो टिमको असली परीक्षा भएको प्रतिक्रिया दिएका छन् । सबै खेलाडीको विश्वकप खेल्ने सपनालाई पूरा गर्न यूएईविरुद्ध उत्कृष्ट खेल खेल्ने उनको भनाइ छ । दुवै टिम समान स्तरका भएकाले जसले राम्रो खेल्छ उसैले जित्ने कप्तान देवको भनाइ छ ।

यसअघिका ४ खेलमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गरेको थियो । यूएईका आयन असफजले विश्वकप क्रिकेट लिग टु खेलिरहेको सिनियर टिम छोडेर यू-१९ को कप्तानी सम्हालिरहेका छन् । जगत टमाटाको प्रशिक्षणमा रहेको नेपालले जित हात पारे सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपका लागि छनोट हुनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: