प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना सन्देश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सङ्कल्पका साथ शान्ति, समृद्धि र सुशासनको मार्गमा अघि बढ्न आह्वान गरेकी छन्।

आज सार्वजनिक शुभकामना सन्देशमार्फत उनले नेपालको मौलिक संस्कृति कठिन परिस्थितिमा पनि एकताबद्ध रहने परम्पराले समृद्ध भविष्य निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ।”

प्रधानमन्त्री कार्कीले सरकार आगामी फागुन २१ गते भित्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिइन्। साथै, उनले छ महिनाभित्र स्थिर सरकार गठन गर्ने प्रतिज्ञा पनि दोहोर्‍याइन्।

सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारिन्। उनले भनिन्, “महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ।”

प्रधानमन्त्रीले यी पर्वहरूलाई आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथिको उज्यालोको विजयको रूपमा लिँदै सबै नेपालीलाई सकारात्मक सोच र एकताको भावनासहित अघि बढ्न आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *