×

भीम रावल धनगढी पुग्दा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी

माघ ४, २०८१ | दाक्सु मिडिया

धनगढी : एमालेबाट निष्कासित भएपछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम आएका भीम रावल शुक्रबार धनगढी विमानस्थलमा पुग्दा भेला भएका कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रावलले एमालेको ठूलै पङ्क्ति आफ्नो समर्थनमा आउने आशय व्यक्त गरेका छन् । एमाले कार्यकर्ताहरूको त तपाईंलाई समर्थन देखिएन नि भन्ने पत्रकारहरूको जिज्ञासामा रावलले भने, ‘हामी एकदमै आरम्भिक बिन्दुमा छौं । हेर्दै जानु होला के के हुन्छ । कहिलेकाहीँ हिमालमा सानो डल्लो लडेको देखिन्छ नि, त्यो अगाडि बढ्दै जाँदा हिमआँधीमा परिणत हुन्छ । त्यसैगरी यस अभियानमा हजारौँ हजार मानिसहरू सहभागी हुनेछन् ।’

एमालेमा पूर्व उपाध्यक्षसमेत रहेका रावललाई एमालेले निष्कासन गरेपछि उनी मातृभूमि जागरण अभियान नेपालमार्फत नयाँ पार्टी गठनको तयारीमा छन् । बिहीबार उनले अभियानको प्रारम्भिक खाकासमेत सार्वजनिक गरेका छन् । पार्टी संरचनाको आकार र नीतिबारे उनले विभिन्न समूहसँगको छलफलपछि तय हुने बताए । उनले सशक्त वैकल्पिक शक्ति निर्माणका लागि सबै समूहसँग छलफल गर्ने उनले बताए । ‘देशको हित चाहने सबै समूहसँग छलफल हुन्छ, सहकार्य हुन्छ, एकजुट गरेर अघि बढ्छौँ,’ रावलले भने ‘त्यसका लागि जे–जे आवश्यक पर्छ, त्यो सबै गर्छौं ।’

आफू पार्टीबाट निष्कासित हुनुको कारण एमाले अध्यक्ष केपी ओलीमा चढेको निरङ्कुशता, स्वेच्छाचारी र तानाशाहीको रङ्ग भएको दाबी उनले गरे । यस्तै आफू शक्तिमा हुँदा अहिले ओली जस्तै अन्य कार्यकर्तालाई पेलेको आरोप छ नि भन्ने प्रश्नमा उनले भने ‘एक जनाले पनि प्रमाणित गरोस् । म चुनौती दिन चाहन्छु ।’

रावल गृह जिल्ला अछाम जानका लागि शुक्रबार काठमाडौंबाट धनगढी आइपुगेका हुन् । शनिबार अछामको रामारोशन गाउँपालिकामा हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन रावलले गर्ने कार्यक्रम रहेको उनी निकट कार्यकर्ताहरूले बताएका छन् । अछामस्थित रावल निकट एक कार्यकर्ताका अनुसार सोही अवसरमा अछामबाट मातृभूमि जागरण अभियान नेपालको संस्थागत संरचनाको सुरुआत गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: