काठमाडौँ – नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष आज (सोमबार) वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।
एमाले स्रोतका अनुसार आजै विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।
त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतबारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।
यसअघि अध्यक्ष ओलीले एक्लौटी रुपमा बालुवाटारमा आफूनिटक केन्द्रीय सदस्यहरुको बैठक बोलाएर पूर्वमाओवादी परित्याग गरेर आएका नेताहरुलाई केन्द्रीय सदस्यमा मानोनित गरेका थिए ।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको स्रोतले बतायो । प्रतिनिधि सभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा जुट्न लागेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया