टी–२० विश्वकपमा आज नेपाल–इटाली भिडन्त, जित्नैपर्ने दबाबमा दुवै टोली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमाडौं — आईसीसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३:१५ बजे हुने यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा रहेको छ।

पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। समूह ‘सी’ बाट सुपर–८ मा पुग्ने सम्भावना जोगाइराख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

नेपालका कप्तान रोहित पौडेलले इंग्ल्याण्डविरुद्धको प्रतिस्पर्धी प्रदर्शनले टोलीको मनोबल बढाएको बताउँदै इटालीलाई कमजोर नआँक्ने स्पष्ट पारे। “हामी योजनाअनुसार खेल्ने तयारीमा छौं,” उनले भने।

इटालीका प्रशिक्षक जोन डेभिसनले पनि नेपालविरुद्धको खेल चुनौतीपूर्ण हुने प्रतिक्रिया दिएका छन्। यद्यपि चोटका कारण नियमित कप्तान वेन म्याडसन आजको खेलमा अनुपस्थित रहनेछन्।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी, कप्तान रोहितको स्थिर इनिङ्स तथा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन मुख्य आधार रहनेछ। बलिङमा सन्दीप लामिछानेसहित करण केसी र नन्दन यादवबाट अपेक्षा गरिएको छ।

इतिहासमा नेपालले इटालीसँग ५० ओभरको तीनै खेल जितेको भए पनि टी–२० मा भने यो पहिलो भेट हुनेछ। १२ वर्षदेखि विश्वकपमा जितविहीन रहेको नेपाल आज त्यो खडेरी तोड्ने लक्ष्यमा मैदान उत्रनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *