नेपालले टी–२० विश्वकपमा १२ वर्षपछि जित निकाल्ने लक्ष्यसहित समूह ‘सी’ अन्तर्गत दोस्रो खेलमा बिहीबार इटलीसँग प्रतिस्पर्धा गर्दैछ । सन् २०१४ मा बंगलादेशमा अफगानिस्तानलाई हराएपछि नेपालले विश्वकपमा जित हात पार्न सकेको छैन ।
नेपालले पहिलो पटक २०१४ को टी–२० विश्वकप खेल्दै डेब्यू गरेको थियो । त्यसबेला हङकङ र अफगानिस्तानलाई हराउँदै उत्कृष्ट सुरुआत गरे पनि नेट रनरेटका कारण सुपर १२ मा पुग्न सकेन । त्यसयता नेपालले दुई पटक विश्वकप खेलिसकेको छ । २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपालले जित निकाल्न सकेन । हाल भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा दुई पटकको विजेता इंग्ल्यान्डलाई कडा टक्कर दिँदै ४ रनले पराजित भयो । उत्कृष्ट प्रदर्शनपछि नेपाली टोलीले विश्वव्यापी प्रशंसा पाएको छ । अब इटलीविरुद्धको खेलमा नेपाल जितको खोजीमा हुनेछ ।
वरियतामा २७औँ स्थानमा रहेको इटली यस संस्करणमा डेब्यू गर्ने एक मात्र टोली हो । तुलनात्मक रूपमा कमजोर मानिए पनि इटलीलाई सहज रूपमा लिन नहुने नेपाली टोलीको बुझाइ छ । नेपाल र इटलीबीच टी–२० अन्तर्राष्ट्रियमा पहिलो भेट हुनेछ । तर ५० ओभरको क्रिकेटमा १३ वर्षअघि नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो । बर्मुडामा भएको उक्त खेलमा नेपालले १२८ रनको लक्ष्य १४.५ ओभरमै पूरा गरेको थियो ।
नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डविरुद्धको खेलबाट दबाब व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय गर्ने पाठ सिकेको बताएका छन् । वानखेडे मैदानमै सबै खेल खेल्ने भएकाले नेपाली समर्थकको साथ पनि टोलीलाई हुनेछ । १२ वर्ष लामो प्रतीक्षा तोड्दै विश्वकपमा फेरि जित निकाल्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्