सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा अवस्थित कालिका देवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालयको भौतिक वातावरण सुधार तथा सरसफाइलाई प्राथमिकता दिँदै श्रमदान गरेका छन्।
विद्यालयका प्रधानाध्यापक प्रकाश थुलुङ राईका अनुसार बुधबार विद्यालयमा श्रमदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा विद्यालयको नमुना कक्षाकोठा, भवन, फर्निचर तथा खानेपानीको धारामा रङरोगन गरिएको छ।
त्यसैगरी, दसैँ बिदापछि विद्यालय सञ्चालन हुनुअघि विद्यालय परिसरको सरसफाइ, फर्निचरको व्यवस्थापन तथा वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउने कार्यसमेत गरिएको छ।
विद्यालयको शैक्षिक वातावरणलाई थप आकर्षक, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको श्रमदान कार्यक्रमले विद्यालयप्रतिको अपनत्व, सामूहिक जिम्मेवारी र सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
श्रमदान कार्यक्रममा सक्रिय रूपमा सहभागी भई विद्यालयको सुधार तथा व्यवस्थापनमा योगदान पुर्याउने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई प्रधानाध्यापक प्रकाश थुलुङ राईले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै भौतिक तथा वातावरणीय सुधारमा शिक्षक, कर्मचारी, अभिभावक र समुदायको सामूहिक प्रयास महत्त्वपूर्ण हुने देखिन्छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्