काठमाडौँ — राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक भेटघाट हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने पहिलो खेल ११:४५ बजे सुरु हुनेछ भने दोस्रो खेल ४:०० बजे हुनेछ।
पहिलो मुकाबिलामा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स आफ्नो दोस्रो जितको खोजीमा सुदूरपश्चिम रोयल्स विरुद्ध मैदान उत्रिँदैछ। तीनमध्ये एक मात्र खेल जितेको लुम्बिनी अहिले अंक तालिकाको छैटौँ स्थानमा छ।
उता कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स लगातार तीन खेल जितेर शीर्षस्थानमा उक्लिएको छ र यसै लयलाई जारी राख्ने लक्ष्यमा छ। टोलीले अबसम्म ६ अंक जोडिसकेको छ।
दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स (कप्तान—अनिल शाह) र पोखरा एभेन्जर्स (कप्तान—कुशल भुर्तेल) आमनेसामने हुँदैछन्। दुवै टोलीले यसअघिका खेलमा जित हात पार्न नसकेकाले आजको भिडन्त उनीहरूका लागि ‘फर्कने मौका’ मानिएको छ।
जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाका अनुसार आजको खेलमा जनकपुरका सम्पूर्ण खेलाडीले आफ्नै आमाको नाम लेखिएको विशेष जर्सी लगाएर मैदान प्रवेश गर्नेछन्। खेलपछि ती जर्सीहरू अक्सनमार्फत बिक्री गरिने र जुटेको रकम आमा समूहलाई सहयोग रूपमा प्रदान गरिने बताइएको छ।
लगातार दुई खेलमा पराजित जनकपुर बोल्ट्स आज भने पहिलो जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्