माघे संक्रान्ति आज देशभर श्रद्धा र उल्लासका साथ, सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौ। आज माघ महिनाको पहिलो दिन परेको माघे संक्रान्ति पर्व देशभर धार्मिक आस्था, परम्परा र उत्साहका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

माघे संक्रान्तिका अवसरमा बिहानै नदी, कुण्ड तथा तीर्थस्थलमा स्नान गर्ने, दान–पुण्य गर्ने र पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन परिवारसँग भेला भई तरुल, सखरखण्ड, चाकु, तिलको लड्डु र घिउजस्ता परिकार खाने चलन व्यापक छ। यी परिकारले स्वास्थ्य लाभ हुने र वर्षभर शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।

पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। जसका कारण सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र नेप्से लगायत अधिकांश कार्यालयहरू बन्द रहेका छन्।

माघे संक्रान्ति थारू समुदायको मुख्य पर्वका रूपमा पनि मनाइन्छ। थारू समुदायले यसलाई नयाँ वर्षको आरम्भका रूपमा मनाउने परम्परा छ। यस अवसरमा देशका विभिन्न धार्मिक स्थलहरूमा स्नान गर्ने श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *