काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहँदा शनिबार देशका अधिकांश भूभागमा मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमालदेखि तराईसम्मका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य अवस्थाभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेकाले देशभर यसको प्रभाव देखिएको हो।
दिउँसोको समयमा अधिकांश क्षेत्रमा आकाशमा बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
तराईतर्फ पनि वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका धेरै तराई क्षेत्र, बागमती र गण्डकीका केही भूभाग तथा मधेश र कोशीका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस क्रममा केही क्षेत्रमा भारी वर्षाको जोखिमसमेत रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्को पूर्वानुमान छ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने देखिएको छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुनसक्नेछ भने कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा समेत वर्षा र हिमपातको सम्भावना छ।
बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम विभागले आग्रह गरेको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्