देशभर मनसुनी प्रभाव कायमै, विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौँ — मनसुनी वायुको प्रभावका कारण आज पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपास रहेकाले वर्षाको गतिविधि जारी रहने देखिएको हो।

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

तराईतर्फ पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा छिटफुटदेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि मौसममा खासै सुधार नहुने देखिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

वर्षासँगै चट्याङ पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *