सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदानले भरिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको संख्या अपेक्षाकृत कम देखिएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म ९० हजार २८३ पर्यटकले आरक्ष भ्रमण गरे पनि विदेशीको संख्या २ हजार २९ मात्रै रहेको छ। पछिल्लो आवमा १२ हजार ८८३ पर्यटक पुग्दा विदेशी ३०५ जना थिए।
आरक्षका सूचना अधिकारी मिथलेस महतोले प्रचारप्रसार र पर्यटन पूर्वाधारको कमीका कारण विदेशी आगमन न्यून भएको बताए। उनका अनुसार कोशी टप्पुलाई बर्ड वाचिङ, वन्यजन्तु अवलोकन र सिमसार पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिन्छ।
पर्यटन व्यवसायी रमन भट्टराईले जंगल सफारी, प्रकृति पदयात्रा, बर्ड वाचिङ मार्ग, सूचना केन्द्र तथा होमस्टे विस्तार गर्न सके पर्यटक बढ्ने बताए।
विसं २०३२ मा स्थापना भएको आरक्ष १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यहाँ ५३५ प्रजातिका पक्षी, ४२ प्रजातिका स्तनधारी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन्। अर्नाको संख्या पनि सन् १९७६ को ६३ बाट सन् २०२१ मा ४९८ पुगेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्