गड्डाचौकी नाकाबाट बढ्दै विदेशी आगमन, सुदूरपश्चिममा अवसर र चुनौती दुवै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १०

कञ्चनपुर, भदौ १० — पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। अध्यागमन कार्यालयको तथ्यांकले यस नाकाको पर्यटन महत्व क्रमशः विस्तार भइरहेको देखाएको छ।

गत आर्थिक वर्षमा गड्डाचौकी नाकाबाट एक हजार ७५३ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् भने यसबाट रु एक करोड पाँच लाखभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। सोही अवधिमा एक हजार ५३४ पर्यटक यही नाकाबाट बाहिरिएका छन्।

तथ्यांकअनुसार सन् २०२२ मा ५४२, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ पर्यटक यो नाका हुँदै नेपाल आएका थिए। यसले पश्चिमी नाका हुँदै आउने पर्यटकको संख्या वर्षेनी बढिरहेको संकेत गरेको छ।

खप्तड, बडिमालिका, रामारोशन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता आकर्षक गन्तव्य भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीका कारण अधिकांश पर्यटक काठमाडौँ, पोखरालगायतका अन्य क्षेत्रमा जाने गरेका छन्।

पर्यटन व्यवसायीहरूले नाकामै सूचना केन्द्र स्थापना गरी सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रभावकारी प्रचार गर्न सके पर्यटकलाई स्थानीय क्षेत्रमा रोक्न सकिने बताएका छन्। उनीहरूका अनुसार पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *