×

नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा उपस्थित हुँदै

जेष्ठ २५, २०८२ | दाक्सु मिडिया

२३ जेठ, काठमाडौं । यही जेठ २७ देखि ३१ गतेसम्म पोखरामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले सहभागिता जनाउने भएको छ।

प्रतियोगिताको तयारी तीव्र बनाउँदै गरिएको क्लबका मुख्य प्रशिक्षक रुपेश विष्टले जानकारी दिए। उनका अनुसार, क्लबले यसपटक विशेष योजना र रणनीतिसहित आफ्नै खेलाडीहरूमै भरोसा राख्दै मैदानमा उत्रिने निर्णय गरेको छ।

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा र अखिल नेपाल खेलकुद महासंघको सह आयोजनामा हुने प्रतियोगितामा देशभरका छवटा प्रमुख महिला टोलीहरूको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब रहेका छन्।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ, जसअनुसार सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था भए पनि नेपाल पुलिस क्लबले भने विदेशी खेलाडी नखेलाउने निर्णय लिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। साथै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: