
काठमाडौँ । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल विभागीय डर्बी हुनेछ, जसमा नेपाल पुलिस क्लब र एपिएफ क्लब एकआपसमा प्रतिस्पर्धा गर्नेछन्। खेल पोखरा रंगशालास्थित कभर्डहलमा अपरान्ह ४ बजे सुरु हुनेछ।
प्रतियोगितामा दुई समूहमा विभाजित ६ टोली सहभागी छन्। पोल ए मा नेपाल पुलिस, एपिएफ र स्टेप रामपुर छन् भने पोल बी मा न्यु डायमन्ड स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब रहेका छन्। उद्घाटन खेलपछि न्यु डायमन्ड र एभरेस्ट क्लबबीच दोस्रो खेल हुनेछ।
त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउन नसकेपछि स्टेप रामपुरलाई अवसर दिइएको आयोजकले जनाएको छ।
राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ।
लिग चरणका खेलका लागि टिकट शुल्क २ सय रुपैयाँ र फाइनल खेलको लागि ४ सय रुपैयाँ तोकिएको छ। उद्घाटन दिन भने दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया