×

टी–२० सिरिजमा कुवेतको जीत, नेपाल ४ रनले पराजित

चैत्र ३०, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपालमाथि कीर्तिमानी जित निकाल्दै कुवेतले चारदेशिय टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको रोमाञ्चक जित हात पारेको हो ।

टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो । यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो । तर, नेपालले उक्त लयलाई निरन्तरता दिन नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भएको हो ।

कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बसिरले सर्वाधिक ८० रन बनाए । ४३ बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरे । नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए । यी दुईबीच नवौं विकेटका लागि ७३ रनको विशाल साझेदारी भएको थियो। योसँगै नेपाल जितनजिक पुगिसकेको थियो । तर, अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा क्लिन्टो एन्टोबाट बसिर क्याच हुन पुगे ।

कुवेतका अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। यसिन पटेल र नवीनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमद असलमको नाममा एक विकेट रह्यो ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: