काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताएका छन्।
आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले यस्तो बताएका हुन्।
‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनता र राजनीतिक दलहरूले पनि स्वीकारिरहेका छन्,’ उनले भने।
पार्टीलाई विकल्पका रूपमा स्वीकार गर्न थालिएको भन्दै अब चुप लागेर बस्न नहुने राईले बताए। उनले टोल–टोलसम्म पुगेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिए।
देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको आकर्षण बढिरहेको दाबी गरे।
पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै गएको बताउँदै राईले जनताको अपेक्षा र भावनालाई बुझेर पार्टी अघि बढिरहेको बताए।
पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै देशको समृद्धि, सुशासन र परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्