काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिम क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।
महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्