एमाले बैठकमा फेरि उठ्यो विद्यादेवी भण्डारीको विषय, ओलीले भने– “मैले आफैं कुरा गर्छु”

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकमा पुनः पूर्वराष्ट्रपति तथा पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीको विषय उठेको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार भण्डारीको सदस्यता र भूमिकाबारे पार्टीभित्र दुई धार देखिएको, र यस विषयले बाहिर राम्रो सन्देश नपठाएको भन्दै पदाधिकारीहरूले छलफल गरेका थिए। उनीहरूका अनुसार भण्डारीजस्तो नेताको योगदानको अवमूल्यन भइरहेको भन्दै केही नेताहरूले असन्तुष्टि जनाए।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले बैठकमा भने, “उहाँलाई के–कसरी सम्बोधन गर्ने भनेर चाँडो टुंग्याउनुपर्छ, यसले सकारात्मक सन्देश नपठाएको छ।”
त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट र नेता युवराज ज्ञवालीले पनि भण्डारीप्रति उचित सम्मान जनाउनुपर्ने कुरा दोहोर्याएका थिए।

तर, अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयमा अहिले थप छलफल नगरी आफूले नै भण्डारीसँग प्रत्यक्ष कुरा गर्ने बताए। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले भनेका थिए, “अहिले यो विषयमा यहाँ कुरा नगरौँ, म उहाँसँग नै कुरा गर्छु।”

तर केही पदाधिकारीहरूलाई ओलीले यो विषयलाई यत्तिकै टार्न खोजेको आशंका पनि लागेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *