काठमाडौं । नेकपा एमाले विभाजनमा साथ नदिएका तेस्रो धारका नेताहरु ८ महिनापछि एमाले स्थायी कमिटि बैठकमा सहभागि भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भेटेका उनीहरुले जेठ २ को बैठक बोलाउने र सो बैठकमा आफूहरु जाने सहमति अनुसार आज बैठकमा गएका हुन् ।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा गरेको स्थायी कमिटी बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका हुन्।
पुस ५ मा केपी ओलीले संसद विघटन गरेपछि उनीहरु बैठकमा गएका थिएनन् । ८ महिनापछि उनीहरु आजको बैठकमा सहभागि भएका हुन् । यसअघि एमालेमा देखिएको विवादका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सबै १० नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका हुन्।
आजको बैठकमा पूर्व माओवादी नेताहरु समेत सहभागि भएका छन् ।
ओली जेठ २ को बैठक बोलाएको भनिएपनि सोही अनुसारको बैठक भने अहिले भएको छैन । जेठ २ भनेको एमाले र माओवादी एकीकरण हुनुअघिको दिनको अवस्था हो । त्यसमा विशुद्ध एमाले नेताहरुमात्र रहनुपर्ने हुन्छ । तर आजको बैठकमा एमाले आएका पूर्व माओवादी नेताहरु सहभागि भएका छन् ।
सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए। त्यही अनुसार नेताहरु सहभागि भएपनि पूर्व माअोवादी नेता लेखराज भट्ट, राम बहादुर थापा लगायत पनि सहभागि भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया