काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् । त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।
बैठकमा बोलाइएपनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०ले लगातार अवरोध गर्दै आएको छ ।
आजै आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्