काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१४ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ। विभिन्न स्थानमा गरिएको नियमित जाँच तथा निगरानीका क्रममा ५१४ जना चालक कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक रहेका छन्। यस्तो कसुरमा १३६ जना चालकलाई कारबाही गरिएको छ।

त्यस्तै, सिसिटिभी निगरानीबाट नियम उल्लंघन गर्ने ५० जना तथा ट्राफिक बत्तीको संकेत बेवास्ता गरी रातोबत्ती पार गर्ने २२ जना चालक कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ९१ जना चालकलाई पनि कारबाही गरिएको छ। हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ८, लेन अनुशासन उल्लंघन गर्ने ३ तथा सवारीसाधनको अवस्था ठीक नभएका १५ चालक कारबाहीमा परेका छन्।

यसैगरी, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ५ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नियमित रूपमा जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *