प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै सुरक्षा विज्ञ बालान्द शर्मालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले शुक्रबारै शपथ पनि लिइसकेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् ।

नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् । सुरक्षा विज्ञको रुपमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा काम गरिसकेका छन् । शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रुचाएका व्यक्ति पर्छन् ।

२०७८ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला शर्मालाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुखमा नियुक्त गरिएको थियो । त्यसअघि यसको प्रमुखमा ईश्वर पोखरेल थिए । ओलीले शर्मालाई सीसीएमसी प्रमुखमा नियुक्त गरेपछि त्यसबेला सकारात्मक प्रतिक्रिया आएका थिए ।

२०६७ मंसिरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले माओवादी लडाकु रेखदेख, अनुगमन र पुनःस्थापनासम्बन्धी विशेष समितिले लडाकुलाई नियन्त्रण गर्नेगरी गठित सचिवालयको संयोजकमा नेपाली सेनाका पूर्वरथी शर्मालाई नियुक्त गरेको थियो । शर्मालाई नियुक्त गर्नुपर्ने प्रस्ताव माओवादीको थियो । सचिवालय संयोजक कसलाई बनाउ भन्नेमा तीन महिनादेखि सरकार र माओवादीबिच रस्साकस्सी चलिरहेको थियो । माओवादीले पूर्व लडाकु नन्दबहादुर पुनलाई संयोजक बनाउन चाहेको थियो तर सरकारलाई मान्य भइरहेको थिएन । पछि माओवादीले शर्मालाई प्रस्ताव गरेपछि सहमति भएको थियो ।

परराष्ट्रमन्त्री नियुक्त शर्मा २०२४ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका थिए । उनले २०६४ मा रथीबाट अवकाश पाए । उनले सन् २००४ देखि २००७ सम्म गोलानहाइटमा राष्ट्रसंघीय सैनिक मिसन प्रमुख भई समेत काम गरेका थिए । उनले केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *