
काठमाण्डौँ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर चक्कु प्रहार भएको छ ।
सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका १० स्थित चैनपुरमा रहेको देवीस्थान होटलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो ।
पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै मस्टा गाउँपालिका ४ का विनोद कठायतको समूहले होटलमै चक्क प्रहार गरेका हुन् ।
उनले भोलि कुरा गरौंला भन्दा पनि जबर्जस्ती अपहरण शैलीमा कोठामा लगेर चुकुल लगाएर अन्धाधुन्ध रुपमा चक्कु प्रहार र कुटपिट गरेको बताएका छन् । चक्कु प्रहार र कुटपिटबाट पत्रकार सिंह घाइते भएका छन् भने उनको निधारमा ३ वटा टाँका लगाइएको छ ।
पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यता, पत्रकार सिंहमाथि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया