आम्दानीभन्दा २ करोड बढी खर्च, स्वास्थ्य प्रशासक सापकोटामाथि मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

काठमाडौँ । वैध आम्दानीको तुलनामा अस्वाभाविक रूपमा बढी खर्च गरेको आरोपमा स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार दायर गरेको मुद्दामा सापकोटासँगै उनकी पत्नीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारको अनुसन्धानअनुसार सापकोटाको सेवा अवधिमा ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ मात्र वैध आम्दानी देखिएको थियो।

तर सोही अवधिमा उनको खर्च ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ पुगेको आयोगको दाबी छ। आम्दानीको स्रोतबाट पुष्टि हुन नसकेको २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँलाई अख्तियारले गैरकानुनी आर्जन मानेर बिगो कायम गरेको हो।

सापकोटाले २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको रकम बराबरको बिगो असुल तथा दुवै प्रतिवादीको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *