पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा एमाले नेता रामबहादुर थापा (बादल) र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल ‘हत्या’ प्रकरणमा मुछिएका उनीहरु विरुद्धमा सर्लाहीमा जाहेरी दर्ता भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीलाई समेत बोलाएर बादल र खनालविरुद्ध जाहेरी दर्ता भएको सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। अब उनीहरुमाथि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख रिद्धिनाथ निरौलाले जाहेरी सनाखत हुने काम सकिएको र प्रतिवेदन तयार पारेर सर्वोच्चमा पठाउने बताए।

सर्वोच्च अदालतले नै जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेपछि आदेश कार्यान्वयनका लागि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखेको थियो। एकहप्ताभित्र जाहेरी दर्ता गर्न भनेका बुधबार जाहेरी दर्ता भएको हो।

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको गत असार ३ गते लालबन्दी नगरपालिका १ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो।

अन टेस्ट मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी थियो।

तर, मानव अधिकार आयोगको टोलीले छानबिन गर्दा इन्काउन्टर नभएर हत्या भएको खुलेको थियो। त्यसबेला आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *