जग्गा हदबन्दीको समस्या चाँडो समाधान गर्न सभामुख अर्यालको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या र कानुनी जटिलता चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन्।

बिहीबार ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ उद्घाटन गर्दै अर्यालले घरजग्गा क्षेत्रमा लामो समयसम्म पुनःसंशोधन गर्न नपर्ने गरी दिगो, नागरिकमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्नुपर्ने बताए।

उनले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न देशमै मर्यादित रोजगारी सिर्जना गर्ने व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। घरजग्गा व्यवसायले सिमेन्ट, छड, बैंक, बीमा र पूर्वाधार निर्माणलगायत क्षेत्रलाई जोड्दै आन्तरिक अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने उनको भनाइ थियो।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले हदबन्दीको प्रावधानका कारण २०० भन्दा बढी घरजग्गा कम्पनीको सम्पत्ति र राजस्व रोकिएको बताए। बैंकबाट ऋण लिएर निर्माण गरिएका घर तथा घडेरीको स्वामित्व हस्तान्तरण गर्न नपाउँदा व्यवसायीले आठ वर्षदेखि ब्याज भार बेहोर्नुपरेको उनले दाबी गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा तथा निर्माण क्षेत्रको कर्जा पुनर्संरचना गर्नुपर्ने बताए।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित सुरु भएको प्रदर्शनीमा रियल स्टेट, बैंक, बीमा, वित्तीय संस्था, सौर्य ऊर्जा, रङ, फर्निचर र अस्पताललगायतका १०० भन्दा बढी कक्ष छन्। प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *