
काठमाडौँ । निर्वाचन आयोगमा बुधबार मात्रै दर्ता भएको नेकपा एमाले (समाजवादी) की नेता रामकुमारी झाँक्रीले पार्टी विभाजन भएपछि बल्ल एकताका लागि आधार तयार भएको बताएकी छन्।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेकी नेता झाँक्रीले केपी ओली सुध्रिएको खण्डमा पार्टी एकताको ढोका भने अझै बन्द नभएको प्रतिक्रिया दिएकी हुन्। एउटै पार्टीमा हुँदा ओलीले श्रृङ्खलावद्ध रुपमा आफूहरुलाई कारबाही गरेपछि फरक दलका रुपमा आएको र यसले एमाले एकताका लागि आधार तयार गरेको उनको दावी छ।
उनले भनिन्, ‘बल्ल पार्टी एकताका लागि आधार तयार भयो। पहिले एउटै पार्टी थियौँ। एउटैमा हुँदा हामीलाई श्रृङ्खलावद्ध रुपमा कारबाही गरियो। अब फरक दलका रुपमा आएका छौँ। यसले यसले एकताको आधार खडा गरेको छ। यदी ओलीका व्यवहार सुध्रियो भने अझै पनि पार्टी एकता हुनसक्छ। एकताको ढोका बन्द भएको छैन।’
नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको हो।
एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्। केन्द्रीय समिति ९५ सदस्यीय बनेको छ। यसमा ५८ जना सदस्यहरु एमालेका तर्फबाट छन् भने बाँकी थप सदस्यहरु छन्। अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिका रहेका छन्।
निर्वाचन आयोगमा माधव नेपाललाई फेरी तनाव, उनीविरुद्ध अदालत जाने चेतावनी
काठमाडौं । माधवकुमार नेपालले नयाँ दल दर्ता गर्नका लागि प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै निर्वाचनमा आयोगमा दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।
तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको छ । माधव नेपाल पक्ष नयाँ दल दर्ताको लागि निवेदन दिन आयोग पुग्दा सो पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् । उनले भने, ‘माधव नेपालहरु हाम्रो पार्टीमा आउनुहुन्छ भने स्वातगत छ तर अरुको पार्टीको चुनाव चिन्ह दिन पाइँदैन ।’
काठमाडौं । उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ । निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए ।
उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए । हाल दर्ता प्रक्रियामा रहेको र स्वागत नेपाल अध्यक्ष रहेको सो पार्टी दर्ता नंबर २ सय ५८ रहेको उनले बताए ।
आयोगले ध्यानाकर्षण नमानेर सो निर्वाचन चिन्ह एमाले समाजवादीलाई दिए भोलि नै सर्वोच्च अदालत जाने चेतावनी दिए ।
पार्टीको चुनाव चिन्हबारे टुंगो लागेन- माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता भएको छ । यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो ।
नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए । उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने विकल्प रहेको उनको भनाइ छ ।
नयाँ दल बनाउने निर्णयसँगै माधव समूहमा पहिरो, अधिकांश नेताहरुले छाडे साथ- काठमाडौं । नेकपा एमाले विभाजन गरेसँगै माधव कुमार नेपाललाई ठूलो मात्रामा दोस्रो तहका नेताहरुले साथ छोडेका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै दल विभाजन गरी नयाँ दल दर्ताको निम्ती निर्वाचन आयोगमा नेपालले निर्वाचन दिएसँगै उनको पक्षका नेताहरुले साथ छोडेका छन् ।
भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।
नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्याएर दल दर्ता गर्न अघि बढेका छन् ।
तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् ।
उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।
स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’
यस्तै वाग्मती प्रदेशमा पनि नयाँ समीकरण देखिएको छ । नेत्री अष्टलक्ष्मी शाक्यले नेपाल पक्षको साथ छोडेकी छन् । उनलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको छ । सोही अनुसार मुख्यमन्त्रीबाट डोरमणी पौडेलले राजीनामा दिइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया