काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी को अध्यक्ष पदबाट महन्थ ठाकुरसहित उनी पक्षीय पदाधिकारीहरुको नाम हटाएको छ । केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै आयोगले अध्यक्षबाट ठाकुरसहित १६ जना केन्द्रीय सदस्यहरुको नाम हटाएको हो ।
आयोगका सचिव सुरेश अधिकारीले जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको जानकारी दिए ।
अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।
यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव अधिकारीले जानकारी दिए ।
आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।
आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्ष मात्र होइन केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् ।
यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ ।
अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए ।
पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया