काठमाडौं । सरकारले ल्याइदिएको राजनैतिक दलसम्बन्धी अध्यादेशमा टेकेर पार्टी फुटाएका महन्थ ठाकुरले आफ्नो पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्न नपाउने भएसँगै नयाँ नामको खोजीमा लागेका छन् ।
निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ ।
आयोगले एमाले समाजवादी गठन गरेका नेता माधव कुमार नेपाललाई पनि नाम परिवर्तन गर्न भनेको थियो । सोही अनुसार उनीहरुले नाम परिवर्तन गरी नेकपा समाजवादी राख्ने भएका छन् ।
यस्तै जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु नयाँ नाम चयनका लागि बैठक बस्न लागेको र आजै नयाँ नाम पठाउने बताए । पार्टीको नाम के राख्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने उनले बताए ।
महन्थ ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ । यद्यपि त्यसमा अहिलेसम्म सहमति बनिसकेको छैन । कतिपय नेताले राजपा वा तमलोपा राख्न पनि सुझाव दिएका छन् तर त्यसमा सहमति बन्ने सम्भावना निकै कम रहेको स्रोतको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया