काठमाडौं । तामाकोसी गाउँपालिकामा सञ्चालन भइरहेको कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि कुटपिट भएको छ ।
अस्पतालले जनाए अनुसार शनिबार राति चिकित्सक रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई ४ जनाको समूहमा आएका युवकहरूले कुटपिट गरेका थिए।
आक्रमण गर्नेमा वडा नं ४ का गोपाल तिमल्सिना, रोशन पोखरेल, बिजुली नेपाली र कुमार श्रेष्ठ रहेको जनाइएको छ। खुट्टाको उपचार गर्न आएका उनीहरूलाई बाहिरै परीक्षण गर्न भन्दा हातपात गरेको अस्पतालका चिकित्सक कार्कीले बताए ।
उनीहरूले कुटपिट गर्न थालेपश्चात गेट बन्द गरि भागेको चिकित्सक कार्कीले बताए । युवकहरू बार नाघेर अस्पताल परिसरमा आई कार्की र मिजारलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । अस्पतालले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग राखी विज्ञप्ति जारी गरेको छ ।
प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उनीहरू माथि हातपात गर्ने तीन जनालाई नियन्त्रणमा लिएर चरिकोट ल्याइएको जानकारी दिए ।
चिकित्सक र कर्मचारीमाथि आक्रमण गर्ने समूहलाई आवश्यक कारबाही गर्न गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले माग गरेका छन् । गाउँपालिकामा कोभिडका बिरामीको उपचारका लागि ५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पतालमा हाल कोरोनाका २ जना बिरामी छन् । अस्पतालमा एक चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्