सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट सुरक्षाकर्मीले करिब ९ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेका छन्।
सशस्त्र प्रहरी बल, नम्बर ७ गण हेडक्वार्टर सिरहाका अनुसार साउन २३ गते जिल्लाका विभिन्न सीमा क्षेत्रमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कपडालगायतका लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान र विभिन्न प्रकारका मदिरा बरामद गरिएको हो।
सुरक्षाकर्मीले बरामद गरेका सामानको कुल अनुमानित मूल्य ८ लाख ९७ हजार ९ सय ७९ रुपैयाँ रहेको जनाएको छ।
बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको गणले जानकारी दिएको छ।
सीमा क्षेत्रमा हुने चोरी–पैठारी तथा अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले नियमित रूपमा गस्ती, निगरानी र चेकजाँच गर्दै आएको सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाले बताए।
उनका अनुसार सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी गतिविधिमाथि सुरक्षा निकायको निगरानी बढाइएको छ। आगामी दिनमा पनि सम्बन्धित सुरक्षा निकायबीच समन्वय गरी सीमा क्षेत्रमा गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइने उनले बताए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्