काठमाडौं, ३० असोज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले विदेश यात्रा गर्न खोजेमा सरकार त्यसमा रोक नलगाउने देखिएको छ। जेन-जी आन्दोलनपछि केपी शर्मा ओलीसहित पाँच जना उच्चपदस्थ व्यक्तिहरूलाई विदेश यात्रा रोक लगाइएको भए पनि देउवा दम्पतीको हकमा यस्तो सिफारिस हालसम्म नआएको सरकारी अधिकारीहरूले बताएका छन्।
जेनजी आन्दोलनको क्रममा देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो, जसमा ठूलो मात्रामा नगद जलेको अवस्थामा भेटिएको थियो। त्यसबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। यद्यपि, जलेको नगदको यकिन विवरण नखुलेकोले अनुसन्धान जटिल बन्दै गएको छ।
सरकारी स्रोतका अनुसार देउवा दम्पतीमाथि हालसम्म विदेश यात्रा रोक्का गर्नुपर्ने ठोस प्रमाण नपुगेकाले प्रतिबन्ध लगाउने विषयमा गृहकार्य रोकिएको छ। “राज्यका संयन्त्रहरूले सिफारिस नगरेसम्म रोक लगाउन सकिन्न,” एक मन्त्रीले जानकारी दिए।
अहिलेसम्म अध्यागमन विभागमा पनि देउवा दम्पतीको विदेश यात्रा रोक्का सम्बन्धी कुनै निर्देशन पुगेको छैन। उनीहरूले ३ असोजमा नयाँ राहदानी लिएका थिए, तर अहिलेसम्म विदेश गएका छैनन्।
यसबीच, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र सम्पत्ति शुद्धीकरण विभागले देउवाको परिवारका अन्य सदस्यहरूसँग पनि अनुसन्धान अगाडि बढाएका छन्। देउवाका सालो भूषण राणाको जावलाखेलस्थित घरमा र सासु-ससुराको निवासमा पनि छापा मारिएको थियो। केही कागजात बरामद भए पनि ठोस प्रमाण फेला नपरेको सीआईबीले जनाएको छ।
देउवा दम्पतीले विदेश यात्रा स्वास्थ्य उपचारका लागि गर्न लागेको जनाइएको छ। यसअघि हिरासतमा रहेका राप्रपा नेता धवल शमशेर राणालाई पनि उपचारका लागि विदेश जान छुट दिइएको उदाहरण दिँदै सरकारले देउवा दम्पतीलाई नरोक्ने सम्भावना बढेको हो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्