भाद्र ९ गतेदेखि १८औं ‘नाडा अटो शो’, २०० स्टल रहने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २५

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ ।

नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ । अटो शोको यो १८औँ संस्करण हो । आयोजकका अनुसार प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन् ।

प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् । त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

नाडाका अनुसार अटो शोका लागि स्टल माग गर्ने व्यवसायीको संख्या उल्लेख्य रहेको छ । प्रदर्शनीस्थलमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले पछिल्लो समय सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *