झापा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन झापाको झापा गाउँपालिकाले २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाको काममा सहयोग गर्ने उद्देश्यले रकम संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट संकलन गरिनेछ। विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ, जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, कर्मचारीबाट ७ लाख ३८ हजार ६७९ रुपैयाँ तथा शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ संकलन हुने जनाइएको छ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले विपद्को समयमा बाढी प्रभावित नागरिकप्रति स्थानीय तहको तर्फबाट सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको बताइन्।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्