कृषि विकास बैंकको विपद् पीडितका लागि ३ करोड सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौं । कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

बैंकले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईँ, विभागीय प्रमुख बीना शर्मा तथा वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको समेत उपस्थिति रहेको थियो।

बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै प्रभावित नागरिकको पीडा न्यूनीकरणमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

देशका विभिन्न स्थानमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएपछि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको जनाएको छ।

यसैबीच, विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न बैंकले देश तथा विदेशमा रहेका इच्छुक व्यक्ति, संघसंस्था तथा अन्य निकायलाई समेत योगदानका लागि आग्रह गरेको छ। बैंकले नेपाल सरकारको नाममा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खाता तथा क्यूआर कोड सार्वजनिक गर्दै सक्दो सहयोग उपलब्ध गराउन अपिल गरेको जनाएको छ।

बैंकका अनुसार विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पुनःस्थापना कार्यमा समेत सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *