असिम राईको प्रमुख आतिथ्यतामा थुलुङ दुधकोसी देउसामा भलिबल प्रतियोगिता सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

सोलुखुम्बु | सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, गायन तथा नृत्य प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सहइन्चार्ज असिम राईको प्रमुख आतिथ्यतामा वडा नम्बर ७, देउसामा भव्य रूपमा सुरु गरिएको हो।

वाइसिएल नेपाल, वडा समिति देउसाको आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ १८ टिम तथा महिला तर्फ १० टिम सहभागी छन्। साथै, स्थानीय कलाकारहरूको सहभागितामा गायन तथा नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको छ।

गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः रु ४०,०००, ३०,००० र २०,००० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, गायन तथा नृत्यतर्फ रु ७,०००, ५,००० र ३,००० पुरस्कार प्रदान गरिनेछ।

उद्घाटन समारोहमा प्रमुख अतिथि असिम राईले युवाहरूको जोश, जाँगर र क्षमतालाई सकारात्मक दिशातर्फ मोड्न आवश्यक रहेको उल्लेख गर्दै, खेलकुद तथा सिपमूलक क्षेत्रमा प्रगति गर्न गाउँपालिकाले युवामैत्री कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो।

खेल उद्घाटनका अवसरमा अध्यक्ष राईसहित वडा अध्यक्षहरू, खेलाडी, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। दशैं, तिहार, छठ र उभौली लगायत नेपालीहरूको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै खेलकुदको विकास र युवाको सशक्तिकरणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *