×

एक महिनामा १३ हजार बढि पर्यटक सगरमाथा क्षेत्रको भ्रमणमा पुगे   

मंसिर १२, २०७९ | दाक्सु मिडिया

एक महिनामा  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढि पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन् । कार्तिक महिनामा  खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १ सय ५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

जसमा नेपाली १ हजार  ५ जना, सार्क  क्षेत्रका ७ सय ८६ जना र अन्य देशका १० हजार ८ सय ७२ जना रहेकाछन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले १ महिनामा २ करोड बढी राजस्व संकलन गरेको छ । निकुञ्जले कार्तिक महिनामा २ करोड ७९ लाख ६४ हजार ७ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले तेश्रो मुलुकका विदेशी पर्यटकबाट प्रति ब्यक्ति ३ हजार, सार्क मुलुकका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रबेश शुल्क लिने गरेको छ ।

वि.सं. २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कु लगायत्का हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचिमा समावेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: