सगरमाथा आरोहण गरेका सोलुखुम्बुका चार साहसीलाई रक्षा मन्त्रीद्वारा सम्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ३१

काठमाडौँ, जेठ ३१ – सगरमाथा शिखरमा सफलतापूर्वक पाइला टेकेका सोलुखुम्बुका चार जना साहसी आरोहीलाई शुक्रबार राजधानी काठमाडौँमा विशेष सम्मान गरिएको छ।

नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।

सम्मानित हुने आरोहीहरूमा पेम्बा शेर्पा, मिलन खालिङ राई, दाजाङबु शेर्पा र कुन्साङ छोपेल शेर्पा छन्।

कार्यक्रममा बोल्दै रक्षा मन्त्री राईले सामान्य आर्थिक अवस्थाका परिवारबाट आउँदासमेत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आँट देखाएकोमा आरोहीहरूको प्रशंसा गरे। उनले भने, “सगरमाथा चढ्न ठूलो लगानी र जोखिम आवश्यक पर्छ भन्ने सबैलाई थाहा छ। यस्तो चुनौतीपूर्ण यात्रा तय गर्नु आफैँमा गर्वको विषय हो।”

पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपण गरेपछि पनि सफलतापूर्वक सगरमाथा आरोहण गर्न सकेको अनुभव सुनाउँदै जीवनका कठिनाइहरूसँग लड्न नसकिने केही छैन भन्ने सन्देश दिन खोजेको बताए। “म जस्ता मिर्गौला पीडितलाई हार मान्नु हुँदैन भन्ने सन्देश दिन चाहेको हुँ,” उनले भने।

सम्पर्क मञ्चका अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षता तथा मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले हिमाली क्षेत्रका साहसी व्यक्तिहरूको सम्मानमार्फत सम्पूर्ण सोलुखुम्बु जिल्लालाई गौरवान्वित बनाएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *