काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदैछन्। आजका खेलसँगै सोझै फाइनल पुग्ने एक टोली र प्लेअफ खेल्ने दुई टोलीको टुंगो लाग्नेछ।
लिगमा सहभागी ६ वटै टोलीले बिहीबार आफ्नो अन्तिम लिग खेल खेल्दैछन्। हाल अन्नपूर्ण स्पाइकर्स किङ्स ९ अंकसहित शीर्ष स्थानमा छ। कर्णाली शिवराज र काठमाडौं रेड्सको समान ८ अंक छ भने सगरमाथा स्म्यासर्स ७ अंकसहित चौथो स्थानमा छ।
मधेश वारियर्स ४ अंकसहित पाँचौँ र खप्तड फाल्कन्स अंकविहीन हुँदै छैटौँ स्थानमा छन्। मधेश र खप्तडको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
बिहीबारका खेल :
🕐 दिउँसो १ बजे: अन्नपूर्ण स्पाइकर्स किङ्स 🆚 सगरमाथा स्म्यासर्स
🕓 अपराह्न ४ बजे: कर्णाली शिवराज 🆚 मधेश वारियर्स
🕖 साँझ ७ बजे: काठमाडौं रेड्स 🆚 खप्तड फाल्कन्स
अन्नपूर्णले सगरमाथालाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा सोझै फाइनलमा प्रवेश गर्नेछ। सगरमाथाले जितेमा भने अन्नपूर्णले प्लेअफ खेल्नुपर्नेछ।
सगरमाथाका लागि भने यो खेल निर्णायक छ। अन्नपूर्णसँग पराजित भएमा उसको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। कर्णालीका लागि पनि मधेशविरुद्धको खेल महत्वपूर्ण छ। जित निकाल्दै ११ अंक पुर्याएमा कर्णालीको फाइनल दौड बलियो हुनेछ।
काठमाडौंका लागि भने पहिलो दुई खेलको नतिजा महत्वपूर्ण हुनेछ। अन्नपूर्णले सगरमाथालाई हराए काठमाडौं प्लेअफमा पुग्नेछ। तर अन्नपूर्ण र कर्णाली दुवै पराजित भए काठमाडौंले खप्तडलाई हराएर सोझै फाइनल पुग्ने अवसर समेत पाउनेछ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्