काठमाण्डौँ । माथिल्लो उमेर समूहको साफ महिला च्याम्पियनसिप सातौं संस्करणसम्म आइपुग्दा नेपालले बंगलादेशलाई अहिलेसम्म हराउन सकेको छैन । आठ हार, एक बराबरी ।
बुधबार बंगलादेशसँग १०औं पटक खेलिरहँदा नेपाल ‘गर या मर’को स्थितिमा हुनेछ । शनिबार हुने फाइनलमा स्थान बनाउने हो भने नेपालले कम्तिमा पनि बंगलादेशलाई हराउनु पर्नेछ । बढीमा नेपालले के गर्नुपर्छ, त्यो अहिले थाहा छैन ।
पोखरा रंगशालामा भइरहेको साफ यु-१९ च्याम्पियनसिपअन्तर्गत दिनको पहिलो खेलमा भारत र भुटान आमने–सामने हुनेछन् । भुटानले भारतलाई हराए नेपाललाई केहि हदसम्म सजिलो हुने अनुमान छ । भारतले विजयी हासिल गरे नेपालको फाइनल यात्रामा गोल भिन्नताले प्रमुख भूमिका खेल्नेछ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनल खेल्ने सेटअप छ । लिगको अन्तिम खेल खेल्नुअघि बंगलादेशले ६ अंक बटुलिसकेको छ । भारत र नेपालले समान तीन अंक जोडेको छ । भुटान भने अंकविहीन छ । यस्तोमा भुटान जिते नेपाललाई फाइदा हुनेछ ।
मूल कुरा नेपाललाई बंगलादेशविरुद्ध जितबाहेक विकल्प छैन । बंगलादेशलाई हराएर पनि फाइनल पुग्न नसके नेपालको दूर्भाग्य हुनेछ । तर, त्यो जितमा केही सुःखद पक्ष अवश्य रहनेछ ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्