काठमाण्डौँ । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको थियो ।
अब नेपालले घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ र यो नेपालका लागि फाइनल जस्तै हुनेछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो अघोषित फाइनल नै हुनेछ ।
किनभने बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि नेपाललाई जितको विकल्प छैन । बंगलादेश भने बराबरीले मात्र पनि च्याम्पियन बन्नेछ ।
हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।
अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।
५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३-२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्