रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो,५१३० बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौँ । रसुवा केन्द्रबिन्दु भएर आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३७७ जनाको मृत्यु भएको छ भने ५ हजार १३० जना बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक जनाएको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। काठमाडौँमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

हालसम्म १०४ वटा शवको सनाखत भएको प्राधिकरणले जनाएको छ। विपद्पछि विभिन्न १९ अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूलाई राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।

राहत तथा उद्धारका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरीले २७२ वटा हवाई उडान गरेका छन्। खोज, उद्धार तथा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *