चीन–नेपाल सीमा क्षेत्रको बाढीमा चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुग्यो, ५४१ अझै बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा खसेको लेदोसहितको भीषण पहिरो र बाढीमा परी चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

चिनियाँ अधिकारीका अनुसार घटनामा अझै ५४१ जना बेपत्ता छन् । प्रभावित क्षेत्रसम्म पुग्ने मुख्य सडक खुलाइएपछि उद्धारकर्ताले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रका अध्यक्ष कर्मा छिरिङले जिरोङमा आयोजित पत्रकार सम्मेलनमा खोज तथा उद्धारका लागि २ हजार ३०० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जानकारी दिए ।

गत भदौ १० मा नेपालतर्फबाट सुरु भएको लेदोसहितको बाढीले केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीपहिरोपछि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा मुख्य प्रभावित क्षेत्र केही समय सम्पर्कविहीन बनेको थियो ।

नाकातर्फ जाने राष्ट्रिय राजमार्ग जी२१६ को क्षतिग्रस्त खण्ड पुनः सञ्चालनमा आएपछि उद्धार टोलीले ठूला मेसिन तथा उपकरण प्रभावित क्षेत्रमा पुर्‍याएर बाक्लो लेदो र भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीलाई तीव्र बनाएका छन् ।

२ हजार ३०० भन्दा बढी उद्धारकर्मी परिचालन

छिरिङका अनुसार उद्धार कार्यका लागि ४०० भन्दा बढी सवारीसाधन र ८ हजारभन्दा बढी उद्धार उपकरण परिचालन गरिएको छ । ड्रोनले करिब ८०० पटक उडान भरिसकेका छन् भने मुख्य प्रभावित क्षेत्रमा ५.४३ मेट्रिक टन खाद्यान्न तथा उद्धार सामग्री हवाई मार्गबाट पुर्‍याइएको छ ।

सडक अवरुद्ध रहेका बेला उद्धार टोली स्थल, जल तथा हवाई मार्ग प्रयोग गरेर प्रभावित क्षेत्रमा पुगेका थिए । केही टोली डुङ्गामार्फत पुगेका थिए भने केहीले करिब १२ घण्टासम्म कठिन पैदल यात्रा गरेका थिए । यस क्रममा हेलिकप्टरले २४ पटक उडान भरेर उद्धारकर्मी र आवश्यक सामग्री ओसारेको जनाइएको छ ।

प्रभावित क्षेत्रमा १२ वटा मोबाइल बेस स्टेसन पुनः सञ्चालनमा ल्याइएको छ । विद्युत् तथा प्रकाशका उपकरण जडान गरी सञ्चार तथा उद्धार कार्यलाई सहज बनाइएको छ ।

उद्धार टोलीले हालसम्म करिब १५ लाख ९० हजार वर्गमिटर क्षेत्रफलमा पटक–पटक खोजी गरिसकेको बताइएको छ । मुख्य प्रभावित क्षेत्रमा १० भन्दा बढी ठूला मेसिन परिचालन भएपछि सतहसँगै गहिराइमा खनेर खोजी गर्ने कामसमेत सुरु भएको छ ।

१६ मिटरसम्म गहिरो लेदो

सिजाङ क्षेत्रीय सरकारका कार्यकारी उपाध्यक्ष रेन वेईका अनुसार प्रभावित क्षेत्रमा लेदोको तह औसत ४ मिटर र केही स्थानमा १६ मिटरसम्म गहिरो छ ।

बाक्लो हिलो र ठूला चट्टानका कारण सतहमुनि के छ भन्ने यकिन गर्न कठिन भइरहेको उनले बताए । त्यसैले गहिरो लेदो जमेको क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

उद्धार टोलीले प्रभावित क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरेर विशेष उपकरणको प्रयोगमार्फत खोजी गरिरहेको छ । पार्किङस्थल, संयुक्त निरीक्षण भवन तथा मानिसहरू थुनिएको हुन सक्ने आवासीय भवनलाई प्राथमिकतामा राखिएको छ ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार ठूला उपकरण उपलब्ध भएपछि उद्धार रणनीतिसमेत परिवर्तन गरिएको छ । एक्स्काभेटरमार्फत ठूला भग्नावशेष हटाउने काम भइरहेको छ भने विशेष टोलीले ‘लाइफ डिटेक्टर’ प्रयोग गरी सम्भावित स्थानमा खोजी गरिरहेका छन् ।

पुरिएका भवन, नदी किनार, खोल्सा तथा क्षतिग्रस्त सडक क्षेत्रमा तालिमप्राप्त कुकुर र आधुनिक उपकरण प्रयोग गरेर खोजी भइरहेको छ । उद्धार टोलीबीच समन्वय बढाउन ग्यिरोङ नाकाबाट करिब १.५ किलोमिटर टाढा अग्रिम कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

मौसम र पुनःपहिरोको जोखिम

सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार टोलीको अवस्था ट्र्याक गर्न तथा वास्तविक समयमा जोखिमबारे जानकारी दिन कठिन भएको अधिकारीहरूले बताएका छन् । कुहिरो, वर्षा तथा तीव्र हावाका कारण ड्रोन उडान र हवाई आपूर्तिसमेत बेलाबेलामा प्रभावित हुने गरेको छ ।

पहिरोका कारण भूभागको स्वरूप नै परिवर्तन भएकाले बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउन थप कठिनाइ भएको उद्धार अधिकारीहरूको भनाइ छ ।

प्रभावित क्षेत्रमा पुनः पहिरो तथा अन्य विपद्को जोखिमसमेत उच्च रहेको बताइएको छ । चीन मौसम विज्ञान प्रशासनका अनुसार ग्यिरोङ क्षेत्रमा आगामी तीन दिनसम्म थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार ३९ सदस्यीय तीनवटा राष्ट्रिय आपत्कालीन उद्धार टोलीले संयुक्त अनुगमन समूह बनाएर काम गरिरहेका छन् । टोलीले पहिरो प्रभावित क्षेत्र, थुनिएका ताल तथा अस्थिर भिरको १२० घण्टाभन्दा बढी समयदेखि निगरानी गर्दै २ हजार ७०० भन्दा बढी तथ्याङ्क सङ्कलन गरिसकेको छ ।

वरपरका पहाड, खोल्सा तथा लेदो जमेको क्षेत्रमा रकफल रडार तथा स्लोप रडारमार्फत चौबीसै घण्टा निगरानी भइरहेको छ । मौसम विज्ञान अधिकारीहरूले प्रत्येक छ घण्टामा विस्तृत मौसम पूर्वानुमान उपलब्ध गराइरहेका छन् ।

उद्धारकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । रातको समयमा टोलीलाई तल्लो उपत्यका क्षेत्रबाट पछि हट्न निर्देशन दिइएको छ भने उद्धारका क्रममा डोरीको सुरक्षा प्रयोग गर्दै समूहमा काम गर्ने व्यवस्था गरिएको छ । जोखिमको संकेत प्राप्त हुनासाथ उद्धारकर्मीलाई तत्काल सुरक्षित स्थानमा हटाइने व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *