काठमाडौँ । रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित विभिन्न जिल्लाबाट यति संख्यामा शव फेला परेको जनाएको हो ।
प्राधिकरणका अनुसार फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
चितवनमा सबैभन्दा धेरै शव फेला
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ रहेका छन् ।
प्रवक्ता महतका अनुसार बाढीमा परी अझै करिब ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक भएको उनले बताइन् ।
१३ हजारभन्दा बढीको उद्धार
प्राधिकरणका अनुसार बाढीमा फसेका तथा प्रभावितमध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क पनि प्राधिकरणले सार्वजनिक गरेको छ ।
बाढी प्रभावितमध्ये ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका ३२३ जनामध्ये २२८ जना उपचारपछि घर फर्किसकेका छन् ।
होल्डिङ सेन्टरमा ३ हजार ५३३ प्रभावित
प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । प्राधिकरणका अनुसार रसुवाका होल्डिङ सेन्टरमा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्