काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवा तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।
गृहमन्त्रीको अराजक शैली र अभिव्यक्तिले शासन प्रणालीकै गरिमा घटाएको भन्दै उनीहरूले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
भदौ २३ गते गृहमन्त्री गुरुङले दिएको समग्र अभिव्यक्ति आपत्तिजनक रहेको उनीहरूको भनाइ छ। शान्ति सुरक्षा र विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको संवेदनशील पदमा रहेका व्यक्तिबाट आएको आक्रामक अभिव्यक्तिले पदको मर्यादा, संयम र गाम्भीर्यलाई बेवास्ता गरेको उनीहरूले बताएका छन्।
राज्य संयन्त्रलाई जवाफदेही बनाउनु पत्रकारको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै नागरिक अगुवाहरूले पञ्चायतकालदेखि विभिन्न कठिनाइ, चुनौती र धम्कीका बाबजुद सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएका छन्।
द्वन्द्वकाल, दरबार हत्याकाण्डदेखि संविधान लेखनसम्मका जटिल राजनीतिक परिस्थितिमा सञ्चारजगत्ले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरूले पत्रकारहरू यस्ता धम्कीबाट हतोत्साहित नहुने बताएका छन्।
सुनकाण्ड, नक्कली शरणार्थी प्रकरण र सहकारी काण्डजस्ता विषयमा सत्यतथ्य बाहिर ल्याउन खोज्ने पत्रकारलाई धम्क्याउनु निन्दनीय भएको उनीहरूको निष्कर्ष छ। साथै, सञ्चारकर्मीहरूलाई पनि पत्रकारिता आचारसंहिताको सीमाभित्र रहेर जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।
वक्तव्यमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, श्यामकुमारी साह, सोम निरौला, सुबोध प्याकुरेल र अभिषेक अधिकारीले हस्ताक्षर गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्