काठमाडौँ । जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी स्मृति पार्क’ निर्माण गरिएको छ । पार्कको बुधबार औपचारिक उद्घाटन गरिँदै छ ।
दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कमा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त ४५ जनाको सालिक राखिएको छ । पार्कलाई सहिदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको हो ।
पार्कका आर्किटेक्ट करुण रिजालका अनुसार पार्क ‘मिनिमल’ शैलीमा निर्माण गरिएको छ । सीमित क्षेत्रफलमा धेरै सालिक समेट्नुपर्ने भएकाले सबै संरचनालाई अर्थपूर्ण रूपमा संयोजन गरिएको उनले बताए । सहिदहरूको सालिकको केन्द्र नेपालको राष्ट्रिय झण्डा रहने गरी डिजाइन गरिएको छ ।
पार्कमा साना कार्यक्रम तथा भेलाका लागि खुला स्थानसँगै फूलबारी र हरियालीलाई समेत प्राथमिकता दिइएको छ । प्रवेश गरेपछि फरक अनुभूति हुने गरी लेभेन्डरसहित विभिन्न फूल तथा वनस्पति रोपिएको छ ।
जेनजी सहिद स्मारक पार्क निर्माण गत फागुनमा सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि पौडी पोखरी परिसरको जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण अघि बढाइएको थियो ।
नयाँ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको योगदानलाई दीर्घकालसम्म स्मरण गराउने उद्देश्यले पार्क निर्माण गरिएको जनाइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्